पोखराको फोहोर लामेआहालमा

|

गण्डकी — पोखरा महानगरपालिकाले नगर क्षेत्रबाट संकलित फोहोर अल्पकालीन रूपमा वडा–३२ लामेआहालमा व्यवस्थापन गर्ने भएको छ । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिक पोखरा–१४ बाच्छेबुडुवास्थित ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दै आइएको छ तर अंग्रेजी नयाँ वर्ष (जनवरी १) बाट विमानस्थल सञ्चालन गर्न लागिएपछि महानगरले तत्कालको विकल्पका रूपमा लामेआहाललाई रोजेको हो ।

फोहोर व्यवस्थापनका लागि जग्गा खोज्न पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको संयोजकत्वमा समिति बनाइएको थियो । समितिले २१, २२ र ३३ वडामा प्रशोधन केन्द्र बनाउन सकिने र लामेआहालमा अल्पकालीन रूपमा फोहोर व्यवस्थापन गर्न सकिने महानगरलाई सुझाव दिएको थियो । लामेआहालमा पहिरोले कटान गरेको ठाउँमा तत्कालका लागि फोहोर फाल्ने र फोहोर फाल्दै पुर्दै गर्दा पहिरोले कटान गरेको ठाउँ पनि उकासिने महानगरको भनाइ छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले तत्काललाई लामेआहालमा फोहोर फाल्ने मौखिक सहमति भएको पुष्टि गरे । यसको सहजीकरण र व्यवस्थापन गर्न स्थानीय अगुवा शिवजी लामिछानेको संयोजकत्वमा २७ सदस्यीय समिति बनाइएको छ । समितिसँग महानगरले पहिरो पुरिने गरी फोहोर फाल्ने मौखिक सहमति गरिसके पनि लिखित सहमति भने महानगर प्रमुख धनराज आचार्य पोखरा आएपछि गर्ने योजना रहेको भारतीले सुनाए । आचार्य हाल काठमाडौंमा छन् ।

लामेआहालको राधाकृष्ण आश्रमपछाडि २०७६ मा गएको पहिरोले खाल्डो बनाएको छ । अहिले फोहोर फाल्दा उक्त खाल्डो पनि पुरिने र १० रोपनी जग्गा पनि उकासिने महानगरको भनाइ छ । यसबारे महानगर र स्थानीय समितिले लिखित सहमति गरेपछि मात्रै फोहोर फाल्न दिइने वडाध्यक्ष अक्कलबहादुर कार्की बताउँछन् । ‘महानगरमा एक चरणको बैठक बस्दा लामेआहालमा फोहोर लैजाने मौखिक सहमति भएको छ, तर त्यसका लागि महानगरले पहिला खाल्डो पुर्ने भनेर लिखित सम्झौता गर्नुपर्छ,’ उनले भने, ‘यदि छुट्टै उक्त खाल्डो पुर्न चाहेमा नै करिब ८ करोड रुपैयाँ लाग्ने अनुमान छ । तर, फोहोर फाल्दा खाल्डो पनि पुरिने र महानगरको फोहोर पनि व्यवस्थापन हुने गरेर सहमति गर्न लागिएको छ ।’

दोहोरो फाइदा देखेरै फोहोर व्यवस्थापनका लागि लामेआहाललाई छानिएको महानगर प्रवक्ता मोतीलाल तिमिल्सिना बताउँछन् । ‘फोहोर पनि व्यवस्थापन हुने र खाल्डो पनि पुरिने गरी उपाय खोजिएको हो, त्यसकै लागि छलफल भइरहेको छ,’ उनले भने । विमानस्थल नजिकै रहेको ल्यान्डफिल साइट हटाएर अर्को व्यवस्था गर्नुपर्ने बाध्यता महानगरलाई भएपछि तत्काललाई अल्पकालीन उपाय निकालिएको हो ।

महानगरले अहिले बाच्छेबुडुवामा एक छेउबाट फोहोर फाल्दै अर्को छेउबाट पुरिरहेको छ । अहिले विमानस्थलको पूर्वीडाँडा रिट्ठेपानी कटान गरी त्यहाँको माटोले बाच्छेबुडुवा ल्यान्डफिल्ड साइट पुर्न लागिएको छ । मंसिर १८ र पुस ३ बाट बाच्छेबुडुवामा फोहोर नफाल्ने भन्दै महानगरले दुई पटक विज्ञप्ति निकालेको थियो । तर, हालसम्म पनि बाच्छेबुडुवामै फोहोर फालिँदै आइएको छ ।

महानगर प्रमुख आचार्यले फोहोर व्यवस्थापन गर्न ६ ठाउँ हेरिएको भए पनि निश्चित ठाउँ भने अझै नतोकिएको बताए । ‘लामेआहाल मात्रै होइन, ६ ठाउँमा फोहोर फाल्छौं । अहिले व्यक्तिकै जग्गामा पनि फालिएको छ, खाल्डो पुर्ने गरी,’ उनले भने । ४ दिनयता बाच्छेबुडुवामा फोहोर नफालेको उनले दाबी पनि गरे । तर, मंगलबार बिहान पनि त्यहीं फोहोर फालिएको ल्यान्डफिल्ड साइट प्रमुख रेशम जीसीले बताए । ‘मंगलबार बिहान पनि यहीं फालिएको हो । ल्यान्डफिल करिब–करिब पुरिइसक्यो । अब १/२ दिन मात्रै फोहोर फाल्न सकिन्छ,’ उनले भने । हाल दैनिक १ सय ८० टन फोहोर ३० वटा गाडीमार्फत बाच्छेबुडुवामै व्यवस्थापन गरिँदै आइएको छ ।  कान्तिपुर

२०७९ पुष ६, बुधबार प्रकाशित