पोखरा/ निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बुझाएसँगै गण्डकीमा नयाँ सरकार गठनको औपचारिक रुपमा बाटो खुलेको छ । प्रदेशको हकमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।
प्रदेश प्रमुखले प्रतिवेदन बुझिसकेपछि सरकारको निर्णयका आधारमा प्रदेशसभाको बैठक आह्वान गर्नेछन । संविधानको धारा १८३ (१) अनुसार,‘प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछ । त्यसपछि यस संविधान बमोजिम प्रदेश प्रमुखले समयसमयमा अन्य अधिवेशन आह्वान गर्नेछ ।’ भनिएको छ ।
निर्वाचन आयोगले गत मंसिर २८ गते नै प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो । त्यस हिसाबले आउँदो पुस १६ गतेभित्रै प्रदेशसभाको बैठक बसिसक्नुपर्ने हुन्छ । प्रदेशसभाका सदस्यहरुले भने बैठक अगावै शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
धारा १८९ ले प्रदेशसभाका सदस्यहरुले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
प्रदेशसभा सचिवालयका सूचना प्रेम सुवेदीका अनुसार आयोगले प्रदेशसभा सदस्यहरुको उमेरसहितको सूची सचिवालयमा पनि बुझाउनेछ । त्यसपछि प्रदेश प्रमुखले सदन आह्वान गर्ने र त्योभन्दा अगाडि सचिवालयले शपथ गराउने बताए ।
प्रदेश प्रमुखले कहिले अधिवेशन आह्वान गर्छन त ? यसको लागि प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशसभा बैठक आह्वानको लागि निर्णय गर्नुपर्ने हुन्छ । सरकारले गर्ने, ‘प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्ने’ निर्णय भइसकेपछि मात्रै प्रदेश प्रमुखले बैठक आह्वान गर्नेछन ।
सरकारका प्रवक्ता तथा उद्योगमन्त्री मणिभद्र शर्मा कँडेलले भने यसबारमो छलफल भइनसकेको बताए । मन्त्रिपरिषद् बैठक पनि मुख्यमन्त्रीकै तजबिजका आधारमा बस्ने उनले जानकारी दिए ।
सभामुख÷उपसभामुखको निर्वाचन भइनसकेको अवस्थामा प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन । बैठक हुनुभन्दा अगाडि नै प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन भने बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले नै सपथग्रहण गराउनेछन ।
संविधानवको धारा १८२ अनुसार, ‘प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूहरुमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन् ।’ भनिएको छ ।
शपथपछि सरकार
विभिन्न दलहरुबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले शपथ लिएपछि मात्रै सरकार गठनको प्रक्रिया पनि सुरु हुन्छ । प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरिसकेपछि संविधानको धारा १६८ अनुसार प्रदेश मन्त्रिपरिषद गठन हुन्छ । एक्लै कुनै पनि दलको बहुमत नभएको हुँदा गण्डकीमा धारा १६८ (१) अनुसार सरकार गठनको सम्भावना भने छैन ।
यो उपधारामा,‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ ।’ भनिएको छ ।
६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार गठनका लागि ३१ जनाको बहुमत चाहिन्छ । तर, मंसिर ४ गते भएको निर्वाचनमा कुनै पनि दलले आवश्यक बहुमत ल्याउन नसकेको हुँदा उपधारा १ अनुसार सरकार बन्न सक्ने अवस्था छैन ।
उपधारा १ को सम्भावना नभएपछि सरकार गठनमा उपधारा २ आकर्षित हुन्छ । यो उपधारामा, ‘उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।’
गठबन्धनकै निरन्तरता रहिरहेको अवस्थामा सबैभन्दा ठुलो दल कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर सरकार गठन गर्न सक्छन । वा, यो उपधारा अनुसार दोश्रो ठुलो दल एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी मिलेर पनि सरकार बनाउन सक्छन ।
उपधारा १ अनुसार सरकार नबन्ने भएका कारण यही धारा अनुसार नै सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । तर, उपधारा ३ अनुसार संयुक्त सरकार ३० दिनभित्रै गठन गरिसक्नुपर्ने हुन्छ । यसरी प्रदेश प्रमुखबाट नियुक्त भएका मुख्यमन्त्रीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्रीले कुल सदस्य संख्याको बीस प्रतिशत भन्दा बढी नहुने गरीे प्रदेश मन्त्रिपरिषद् गठन गर्नेछ ।
प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने कानुनी व्यवस्था छ ।
कांग्रेस ठूलो, निर्णायक माओवादी
प्रदेशसभाको कुल ६० मध्ये ४५ प्रतिशत अर्थात २७ सिट जितेतापनि नेपाली कांग्रेसले सरकार बनाउन माओवादीसँग मिल्नुको विकल्प छैन । यहाँ माओवादीले ८ सिट जितेको छ । निर्विरोध निर्वाचित भएका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेकपा एसमा प्रवेश गरेपछि हालको गठबन्धनसँग ३६ सिटको सुविधाजनक बहुमत छ ।गठबन्धन रहेको खण्डमा यिनै दलहरुबाट बहुमतसहितको सरकार बनाउन कठिन छैन ।२२ सिट जितेको दोश्रो ठुलो दल एमालेले त झन माओवादी सहित कि नेकपा एस, अन्यथा २ सिट समानुपातिकबाट जितेको राप्रपासँग मिल्नैपर्ने बाध्यता छ । तीनवटा दल नमिलाई एमालेले सरकार बनाउन सक्ने सम्भावना भने छैन ।कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९, एमालेले प्रत्यक्ष १२ र समानुपातिक १०, माओवादी केन्द्रले प्रत्यक्ष ५ र समानुपातिक ३, राप्रपाले समानुपातिक १ र निर्विरोध भई नेकपा एसमा प्रवेश गरेका १ सहित गण्डकीमा कुल ६० सांसद छन ।
मुख्यमन्त्रीमा कसको दाबी
ठुलो दल भएका कारण गण्डकीमा काग्रेसभित्रैबाट पाँच जनाको दाबी छ । संसदीय दलको नेता बन्नको खातिर शीर्ष नेतालाई रिझाउन भनेर पाँचैजना आकांक्षी कोही काठमाडांैमा छन भने कोही काठमाडांैबाटै पोखरा फर्किएका छन ।
कांग्रेसबाट गोरखाका सुरेन्द्र पाण्डे, नवलपुरका महेन्द्रध्वज जिसी, कास्कीका विन्दुकुमार थापा,बागलुङमा दीपेन्द्रबहादुर थापा र स्याङजाका भोजराज अर्यालले संसदीय दलको नेतामा दाबी गरिरहेका छन ।
देउवा निकट भनिएपनि सुरेन्द्र पाण्डेलाई देउवा खेमाकै अर्का नेता विन्दुकुमार थापाको सबैभन्दा बढी चुनौती छ । संसदीय दलको नेतामा दाबी गर्ने थापा गण्डकीका बहालवाला कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीसमेत हुन ।
खस आर्यको एक नम्बरमा बसेर पनि सांसद बन्न नपाएका कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माको नाम लिएर नवलपुर १ (क) बाट निर्वाचित महेन्द्रध्वज जिसीले शर्मा नभएपछि आफू नै मुख्यमन्त्री बन्ने बताइरहेका छन । निर्वाचित सांसदमध्येमा सबैभन्दा सिनियर भएको उनको दाबी छ । बागलुङका दीपेन्द्रबहादुर थापाले यसअघिको गण्डकीले मुख्यमन्त्री पाइसकेकोले अबको पालो बागलुङ अर्थात् पुरानो धौलागिरि अञ्चलले पाउनुपर्ने दाबी गरिरहेका छन् । उनले धौलागिरिलाई विकासमा पछि पारिएकोले पनि त्यहीँबाट मुख्यमन्त्री बन्नु्पर्ने लविङ गरिरहेका छन् । स्याङजाका भोजराज अर्यालले पनि इतरसमूहबाट दलको नेतामा दाबी गरेका छन ।
उता, सत्ताघटकको अर्को दल माअोवादी केन्द्रबाट भने हरिबहादुर चुमान आकांक्षी छन । तनहुँबाट चुनाव जितेका चुमान गण्डकीको संस्थापक मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । प्रदेशसभामा दोहो¥याएर चुनाव जित्नेमा माओवादीबाट चुमान मात्रै हुन । माओवादीले सरकारको नेतृत्व गर्न पाएको खण्डमा चुमान नै सबैभन्दा अगाडि छन्