म्याग्दी — जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा ५ को पाउद्वार बेंसीका २ प्राकृतिक तातोपानीको मुहान र पोखरी जोड्न झोलुंगे पुल बनाइने भएको छ । पुल बनाउन १५ लाख बजेट विनियोजन भई डिजाइन र लगत इस्टिमेटको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । प्रारम्भिक अनुमानमा पुल ५०–६० मिटर लामो हुने छ
सदरमुकामदेखि २१ किलोमिटर उत्तर बेनी–जोमसोम सडक छेउको कालीगण्डकी नदी किनारामा रहेका भुरुङ्तातोपानी र पाउद्वार तातोपानीका पोखरीलाई झोलुंगे पुलले जोडेर व्यावसायिक उपयोगमा ल्याउन लागिएको हो । स्थानीयले व्यावसायिक लाभ वृद्धि र स्थानीय सरकारको राजस्व संकलनमा वृद्धि हुने विश्वाससहित पुल बनाउन थालिएको गाउँपालिकाले जनाएको छ । ‘बेनी–जोमसोम सडक किनारतर्फको तातोपानीको मुहान वर्षौंदेखि व्यावसायिक रूपमा उपयोग भइरहेको छ । तर पारिको तातोपानीमा सहज पहुँचमार्ग नहुँदा ओझेल थियो । अब आर्थिक, सामाजिक तथा स्वास्थ्यलाभको हिसाबले अधिक उपयोग हुन्छ,’ अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवा तिलिजाले भनिन, ‘सीमित स्थानीयले परम्परागत रूपमा प्रयोग गरेको पाउद्वार तातोपानी अब बृहत् र व्यावसायिक रूपमा विकास हुनेछ । पर्यटकको चहलपहल बढ्ने र स्थानीय र पालिकाले समेत लाभ लिनेछ ।’ कान्तिपुर