गोरखा — बेनिघाट–आरुघाट–लार्केभन्ज्याङअन्तर्गत १८ किलोमिटर सडक खण्डको ट्र्याक खुलेसँगै दोभानसम्म वोलेरो, जिप, ट्याक्टर, ट्रक चल्न थालेका छन् । सडक ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ । ट्र्याक खुलेको १८ किमि भने सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । अहिले दोभानदेखि पाङसिङसम्मको खण्डमा ट्रयाक खोल्ने तथा ट्र्याक खुलेको क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ ।
दुई महिनाभित्र चुमनुव्री गाउँपालिका–३ जगतसम्म गाडी पुर्याउन सडक स्तरोन्नति भइरहेको सेनाको सडक निर्माण कार्यदलका मेजर विनोद भट्टले बताए ।
‘दैनिक विस्फोट गराउने र सडक चौडा गर्ने काम भइरहेको छ,’ भट्टले भने, ‘सवारी आउजाउका लागि भीरको बाटो डाउन गरेका छौं ।’ हावाडाँडादेखि पाङसिङसम्मको ३२ किलोमिटर ट्र्याक खुलेको उनले बताए । तिब्बत सीमा क्षेत्र पुग्ने उक्त सडक २०७३ मंसिर २६ को मन्त्रिपरिषद्को निर्णयबाट ट्र्याक निर्माणको जिम्मा सेनाले पाएको थियो । २०७४ वैशाख ११ बाट ट्र्याक निर्माण सुरु गरेको सेनाले हालसम्म चुमनुव्री–३ को पाङसिङसम्म ३२ किलोमिटर ट्र्याक खोलेको छ ।
पाङसिङदेखि उपल्लो क्षेत्रअन्तर्गत न्याकफेदीतर्फ पनि ट्र्याक खोल्ने तयारी भइरहेको भट्टले जनाए । सडक निर्माणका लागि चालु वर्ष २० करोड रुपैयाँ विनियोजन भएको छ । दोभानसम्म गाडी चल्न सुरु भएसँगै ढुवानी सुविधा भएको तातोपानीका गोपाल घलेले बताए । ‘दैनिक उपभोग्य वस्तु सबै तलको बजारबाट ल्याउने हो, खच्चडले प्रतिकेजी आठ रुपैयाँ लिन्थ्यो,’ उनले भने, ‘गाडी आएपछि एक किलो सामान दोभानसम्म २ रुपैयाँमा आइपुग्दो रहेछ ।’ सडक निर्माणको क्रममा ऐतिहासिक र पुरातात्त्विक सम्पदालाई पनि विशेष ख्याल राख्न स्थानीयले सचेत गराउँदै आएका छन् । धार्चे–३ को तातोपानी कुण्ड छेउबाट सडकको ट्र्याक खुलेको छ । तातोपानी नमास्ने तवरले सडक निर्माण गर्न सेनालाई भनेको घलेले बताए । ‘तीन वटा घर छन्, गाडी आउँदा तातोपानी कुण्ड मासिएला कि भन्ने चिन्ता थपिएको थियो, यो जोगाउने कुरो भएको छ,’ उनले भने ।
चुमनुव्री गाउँपालिकाले पनि सेनालाई गुम्बा, मानेलगायत सम्पदालाई क्षति नपुग्ने गरी ट्र्याक खोल्न सुझाव दिएको छ । सेनासँग सहकार्य र समन्वय गरेर अघि बढ्ने गाउँपालिका अध्यक्ष निमा लामाले बताए । माघसम्म जगत र चैतसम्म गाउँपालिकाको केन्द्र पारीको घट्टेखोलासम्मै गाडी आइपुग्ने गरी सडक स्तरोन्नतिको काम भइरहेको लामाले बताए । ‘जगतमा पुरानो माने छ, त्यसलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा पनि सेनासँग छलफल गर्यौं,’ उनले भने, ‘ट्र्याक खोल्दा पुरानो सम्पदा, माने, गुम्बा, झोलुंगे पुल, घरलाई क्षति कम पुगोस् भनेर सचेत गराएका छौं, यसका लागि सहयकार्य र समन्वय गर्छौं ।’ सडक निर्माणका लागि केन्द्रीय बजेट थप्न पनि पहल गर्ने लामाले बताए । ‘उत्तर दक्षिण लोकमार्गको उद्देश्य हो, चिनतर्फ सीमा नजिक सडक आइपुगेको छ,’ उनले भने, ‘अब हाम्रोतर्फको सडक पनि तलमाथि दुवैतिरबाट खन्न सुरु गर्ने विषयमा पनि छलफल अघि बढाएका छौं ।’
बेनिघाटबाट लार्के भन्ज्याङसम्मको सडकको लम्बाइ १ सय ५४ किलोमिटर छ । हावाडाँडाबाट लार्केभन्ज्याङ सम्म ९२ किलोमिटर सडक निर्माणमा पाङसिङ र ट्र्याक खोल्न बाँकी रहेको क्षेत्रको ७४ किलोमिटरमा सेनाले काम गर्ने छ । लार्केभन्ज्याङसम्मको करिब ६० किलोमिटर सडकको ट्र्याक खोल्न भने बाँकी नै छ । कान्तिपुर