गण्डकी प्रदेश सरकारको पहिलो कार्यकालमा बनेका तीनवटा विधेयक निष्क्रिय भएका छन् । यसअघिको गण्डकी प्रदेशसभामा सहमति नजुट्दा उक्त विधेयक प्रक्रियामा आएका थिएनन् ।
गण्डकी प्रदेशसभा सचिवालयका अनुसार ‘गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ गरी ३ वटा विधेयक सभाको कार्यकाल सकिएसँगै निष्क्रिय बनेका छन् ।
गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएका ६२ वटा विधेयकमध्ये ५९ वटा विधेयक प्रदेशसभा बैठकबाट पारित भइसकेका छन् । उक्त विधेयक प्रमाणीकरण भएर पनि कार्यान्वयन भइसकेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । ‘अघिल्लो सदनमा छलफल नभएका यी विधेयक अब निष्क्रिय भए,’ उनले भने, ‘अब नयाँ सरकारले आवश्यकताअनुसार विधेयक पुनः ल्याउनुपर्छ ।’ उनले सांसदको व्यस्तताका कारण विधेयकमाथि छलफल नहुँदा पारित हुन नसकेको बताए । आमसञ्चार विधेयक २०७७ चैत १८ मा संसद् सचिवालयमा दर्ता भएको थियो । यस्तै, केही प्रदेश ऐन संशोधन विधेयक २०७८ चैत २० र कृषि व्यवसायसम्बन्धी विधेयक २०७९ साउन १६ मा दर्ता भएका थिए । उक्त विधेयकहरू प्रदेशसभा सचिवालयमा सैद्धान्तिक छलफलपश्चात् दफावार छलफलका लािग विधायन समितिमा लगिसकेको संसद् सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताएका छन् ।
पोखरा–३ नदीपुरमा रहेको गण्डकी प्रदेशसभामा नयाँ सांसदका लागि ‘रेड कार्पेट’ बिछ्याइएको छ । प्रदेशसभाको भवन रंगरोगन, मर्मतसँगै सरसफाइ गर्न यतिबेला यहाँका कर्मचारीलाई भ्याइनभ्याइ छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आएसँगै संसद् भवन सजावट गर्न थालिएको हो । प्रदेशसभा सचिवालयमा दलको कार्यालय, सभामुख, उपसभामुख, सत्तापक्ष दलका नेता, विपक्षी दलका नेता र मुख्यमन्त्रीको कार्यकक्ष र सचिवालयमा टेबल, कुर्सी, सोफा राख्ने, कार्पेट बिछ्याउने र भित्तामा रङरोगनको काम भइरहेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
६० सदस्यीय प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक सिट रहेका छन् । यहाँ कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ ९, एमालेले प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ १० गरी २२ सिट जितेको छ । सरकार गठनमा निर्णायक देखिएको माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ गरी ८ सिट जितेको छ । पहिलो र दोस्रो दल भएका कांग्रेस र एमालेले सरकार निर्माण गर्न चाहेमा नेकपा माओवादी निर्णायक देखिन्छ । मनाङ २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै समाजवादीले एक सिट बनाउन सफल भएको छ । चौथो दलका रूपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ २ सिट पाएको छ ।
सचिव पोखरेलले सचिवालयले सांसदलाई स्वागत गर्न र संसद् भवन मर्मत गर्नेदेखि बैठक सञ्चालन गर्ने, सांसदको कार्यालय व्यवस्थापनको काम भइरहेको बताउँदै सांसदलाई दिने सवारी पनि मर्मत गरी राखिएको बताए । नयाँ सांसदको स्वागतदेखि पहिलो बैठकको विशेष तयारी भइरहेको उनको भनाइ छ ।..