
नेपाल पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गत वर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ। विभागले गत वर्षको यही ऋतुमा ४ करोड ६ लाख रूपैयाँ रकम संकलन गरेकोमा यसवर्ष ९ करोड ३० लाख संकलन गरेको छ।
विभागको तथ्याङ्क अनुसार ४८ वटा हिमाल अनुमतिबाट उक्त रकम संकलन भएको हो। विभागल वर्षमा २ पटक हिमाल आरोहणका लागि अनुमति दिने गरेको छ। यसअनुसार विभागले मार्च, अप्रिल, मे महिना (वसन्त ऋतु) मा र सेप्टेम्बर, अक्टुबर र नोभेम्बर (शरद ऋतु)मा हिमाल आरोहण खुला गर्ने गर्छ ।
यस वर्षको तथ्याङ्क अनुसार शरद ऋतुमा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ। मनास्लु हिमालबाट मात्र विभागले ४ करोड ६२ लाख ९१ हजार रूपैयाँ राजस्व संकलन गरेको हो। कुल ३८ समूहबाट ४ सय ४ जनाले मनास्लु आरोहण अनुमति लिएका छन्। जसमध्ये ३०७ जना पुरूष र ७ जना महिला रहेका छन्।
विशेषगरी वसन्त र शरद ऋतुमा सबैभन्दा बढी हिमाल आरोहण हुने गर्दछ। यी दुई ऋतुमध्ये पनि शरद ऋतुमा मनास्लु हिमाल आरोहण गर्ने आरोहीहरू सबैभन्दा बढी हुने विभागका अधिकृत विज्ञान कोइरालाले बताए। उनले भने ‘शरद ऋतुमा अन्य हिमालहरू भन्दा मनास्लु हिमाल आरोहण गर्ने आरोहीहरू बढी हुन्छन्, त्यसैले पनि मनास्लुबाट यस याममा बढी राजस्व संकलन हुन्छ।’
मनास्लुपछि ६ हजार ८ सय १४ मिटर अग्लो अमादब्लम हिमाल अरोहण अनुमतिबाट बढी राजस्व रकम संकलन भएको तथ्याङ्कले देखाएको छ। अमादब्लमबाट विभागले २ करोड ४२ लाख राजस्व रकम संकलन गरेको छ। विभागबाट कुल ३९ समूहका ४ सय ६० जनाले अमादब्लम आरोहणको अनुमति लिएका छन्। जसमा ३ सय ५५ पुरूष र १ सय ५ महिला आरोही रहेका छन्।
यस्तै अमादब्लमपछि ७ हजार १ सय २६ मिटर अग्लो हिमलुङ हिमालबाट विभागले ५१ लाख ८२ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। राजस्व संकलनका दृष्टिले हिमलुङ हिमाल तेस्रो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ। कुल १६ समूहले अनुमति लिएकोमा १ सय २३ पुरूष र ३३ महिला गरी जम्मा १ सय ५६ जनाले हिमलुङ हिमालको अनुमति लिएका छन्।
धौलागिरी हिमाल चौथो स्थानमा रहेको छ। ८ हजार १ सय ६७ मिटर अग्लो धैलागिरी हिमालले ३८ लाख ९१ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। जम्मा ४ समूहबाट ३४ जनाले हिमाल आरोहण अनुमति लिएका छन्। जसमध्ये २३ पुरूष र ११ महिला आरोही छन्।
विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा पाँचौं स्थानमा रहेको छ। ३५ लाख रूपैयाँ राजस्व संकलन गर्दै सगरमाथा पाँचौं स्थानमा रहेको छ। यसपटक सगरमाथा आरोहण अनुमति एउटा समूहले मात्र लिएको छ।
उक्त समूहमा ५ जना रहेको विभागले जनाएको छ। जसमा ४ जना पुरूष र एक महिला रहेका छन्। यस्तै बारून्तसे, सरिबुङ, थापा लगायतका हिमालले क्रमशः १३ लाख, ६ लाख ५३ हजार, ६ लाख ४० हजार रूपैयाँ राजस्व रकम संकलन गरेका छन्।
यसका साथै शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा बढी अनुमति लिइएको छ। यस्तो अनुमति लिनेहरूमा अमेरिकाका आरोहीहरूको संख्या धेरै रहेको छ। विभागको तथ्याङ्क अनुसार यस ऋतुमा ७६ मुलुकका कुल १ हजार ४ सय ३५ जनामध्ये १ सय ४४ जना आरोही अमेरिकाका रहेका छन्।
अमेरिकापछि फ्रान्स र बेलायत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। फ्रान्सबाट यस पटक १ सय ३२ जना र बेलायतबाट १ सय २९ जनाले हिमाल अरोहण अनुमति लिएका छन्।
विभागको तथ्यांक अनुसार गत वर्ष यो सिजनमा नेपालसहित ६७ देशका ८१ टिमले अनुमति लिएका थिए। यसमा १ हजार २ सय १९ जना रहेका छन्। यस समूहबाट हिमाल आरोहण गर्नेमध्ये ६ सय ४७ जना स्वदेशी तथा ५ सय ६६ जना विदेशी नागरिक थिए। विभागका अनुसार आरोहण गर्ने विदेशीमध्ये ५ सय ३२ जना पुरूष तथा १ सय १५ जना महिला रहेका थिए।
यस वर्ष हिमाल आरोहण गर्न आउने अरोहीहरू लगभग यति नै भएको विभागका अधिकृत कोइरालाले बताए। उनले भने ‘अब यो वर्ष हिमाल चढ्ने समय लगभग सकियो। विभागबाट यो वर्ष हिमाल चढ्ने संख्या र उठ्ने राजस्व रकम यति मात्र हो। बढे पनि ज्यादै न्युनतम मात्रामा होला।
’गत अगष्ट २४ देखि शरद ऋतुका लागि विभागले हिमाल आरोहण खुला गरेको थियो। हिमाल आरोहण वसन्त र शरद ऋतुमा गर्ने गरेकोमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर (शरद ऋतु) वसन्त ऋतुपछि धेरै आरोहण हुने ऋतु हो। बाँकी ऋतुहरू भने हिमाल अरोहणका लागि ‘अफ सिजन’ हुन्। कुल ४ सय १४ हिमाल अनुमति खुला गरेकोमा विभागले ३ सय ८७ र बाँकी २७ हिमाल आरोहणको अनुमति पर्वतारोही संघले दिँदै आएको छ।
यस्तै सरकारले हिमाल आरोहणका लागि राजस्व तोक्दा सिजन र हिमालअनुसार तोक्ने गरेको छ। साथै विदेशी तथा स्वदेशीका लागि ऋतु र हिमाल अनुसार नै राजस्व रकम पनि फरक फरक निर्धारण गर्ने गरेको छ।