बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा परि ३४ वर्षे बद्री गौतमको मृत्यु भएको छ । गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट पल्टिएका थिए ।
घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले जानकारी दिए ।
टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएको छ । तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।
त्यसपछि साइकल चलाउन छाडेका गौतमले केहि दिन अघिमात्र साइकल चलाउन शुरु गरेका थिए । नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउंमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत आएका थिए ।
उनी सेफको रुपमा कार्यरत थिए । गौतम बेलायतमा श्रीमतीसंगै बस्दै आएका थिए ।
नेपाली समाज नटिङघमका आजीवन सदस्य समेत रहेका बद्रीको अन्त्येष्टी यही शनिबार ११ बजे गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए ।