किसानी मावि धारापानीमा पुर्व विद्यार्थीले एक करोड सहयोग जुटाए

|

म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पुर्व विद्यार्थीले रु. एक करोड भन्दा बढी सहयोग जुटाएका छन् ।

दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पुर्व विद्यार्थी संघले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । संघका अध्यक्ष भरतबहादुर थापाले स्वदेश तथा विदेशमा रहेका धारापानी र छिमेकी गाउँका बासिन्दाहरुबाट रु. एक करोड ३ लाख सहयोग जुटेको जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल फेसबुकबाट अभियानका साथै सहयोग जुटाउने उद्देश्यले इन्द्रेणी समुहका कृष्ण कडेल नेतृत्वको कलाकारहरुको उपस्थितिमा आइतबार धारापानीमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । धारापानीकी सरु पुनले सबैभन्दा बढी रु. सात लाख उपलब्ध गराउनुभएको छ ।

विद्यालयको भवन बनाउन स्थानीय चक्रबहादुर थापा, उहाँका भाई पुर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुवा चन्द्रबहादुर थापा र आमा कुन्ता देवी थापाको नाममा ७ रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । जग्गा उपलब्ध गराउने दाताको नाममा विद्यालयको नामाकरण गरिएको छ । यसअघि किसानी मावि नाम थियो । दाताको नाम थपेर किसानी चन्द्रकुन्ता मावि बनाइएको छ ।

धारापानी घर भई हाल अमेरिकामा रहेका मोहन थापाले रु. पाँच लाख २१५, बेदबहादुर राना र गिता रानाले रु. पाँच लाख १५५, तेजिन्द्र थापा र बिष्णु थापाले रु. तीन लाख १२५, काठमाडौमा बस्ने पदम जंग थापाले रु. एक लाख ५५५, लालबहादुर राना र नरदेवी रानाले रु. एक लाख १११ सहयोग गर्नुभएको छ ।

घोषणा भएको रकम एक वर्षभित्र जम्मा गरिसक्ने र अक्षयकोष बनाएर विद्यालयको स्तरवृद्धिका लागि परिचालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर थापाले बताउनुभयो । चन्दादाताहरुलाई धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, वडा अध्यक्ष अशोक खत्री, गाउँपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्याल लगायतले सम्मान गर्नुभएको थियो ।

८० वर्ष भन्दा बढी उमेर समुहका २३ जनालाई सम्मान गरिएको थियो । भवन उद्घाटनका अवसरमा आयोजित अन्तर मावि स्तरीय नृत्य प्रतियोगितामा चन्द्रज्योती मावि खिवाङ प्रथम, हेम नमुना आवासीय मावि शिवाङ दृतीय, केवी एकेडेमी तृतीय, लमसुङ मावि चौथो र ताकम मावि सान्तवना भएका थिए ।

२०७९ आश्विन २२, शनिबार प्रकाशित