हराउँदै रातो माटो र कमेरो

|

दसैंमा घर रंगाउने प्रचलन पुरानो हो । मनसुन निष्क्रिय भएसँगै गाउँघरदेखि सहरका घरमा पनि रंगरोगन सुरु भएको छ ।ग्रामीण भेगमा परम्परागत रंगहरू रातो माटो र कमेरोलाई कुचोले पोतेर घर रंग्याउन हतारो भएको छ । ग्रामीण बस्ती मात्र होइन सहरमा पनि विभिन्न ब्रान्डका रंग, इनामेल र चुनाले घर रंगरोगन हुने गरेको छ ।

गाउँमा परम्परादेखि घर रंग्याउन पोत्ने गरिएको कमेरो, रातो र पहेँलो माटोलाई पछिल्ला केही वर्षदेखि उद्योगमा निर्मित गेरु र चुनाले विस्थापित गर्न थालेका छन् । घरका झ्यालढोका रंग्याउन प्रयोग हुने अँगेनाको मोसो र टर्च लाइटमा प्रयोग हुने कालोलाई तोरीको तेलमा मोलेर लगाउने परम्परा अब विरानो भइसक्यो ।

अन्नपूर्ण गाउँपालिका–६ घारकी सरीता बरुवाल रातो माटो र कमेरो जुटाउनेको झन्झटले बजारिया रंगको प्रयोग बढेको बताउँछिन् । ‘जिल्लाभर रत्नेचौरबाहेक अन्यत्र रातो माटो पाइन्न । रत्नेचौर पुगेर रातो माटो ल्याउ त्यो पनि सामुदायिक वनले खन्न दिन्नन । कमेरो खोज्न अर्को हैरानी । त्योभन्दा पसलबाट एक–दुई किलो गेरु किन्यो, पोत्यो,’ उनले भनिन्, ‘माटोको रंग पानी पर्दा पखालिन्छ, मान्छे टाँसिँदा दाग लाग्छ, गेरुमा थोरै फेबिकोल मिसाएर पोत्ने हो भने न पानीले पखाल्छ, न कपडामा लाग्छ । सस्तो पनि ढुक्क पनि ।’

दसैंलगायत चाडपर्वमा घर रंग्याउने संस्कृति उस्तै भए पनि घरमा पोतिएको रंगको प्रकृति फेरिएको छ । सडक विस्तार र अर्थ व्यवस्थामा आएको परिवर्तनले मटकिलो र गृहिणीको सम्बन्ध टुट्दै गएको छ । रत्नेचौरको रातोमाटोलाई विभिन्न ब्राडका रंग, गेरु, चुना र इनामेलले विस्थापित गरेको छ । सदरमुकाम बेनी स्थित एसएनएस कलर हाउसका सन्तोष रावल पछिल्ला केही वर्षदेखि खासगरी दसैंमा घर रंग्याउन गेरुको माग बढेको बताउँछन् । ‘वर्षभरि बिक्री हुने अन्य समयमा भन्दा दसैं अघिका १५ दिनमा गेरुको व्यापार बढी हुन्छ,’ उनले भने, ‘रातो वा कमेरो माटोले घर पोतेजस्तै गेरु रंगले घर छ्याप्ने हो ।’ गाउँमा गेरुसँग झ्याल ढोकामा लगाउन इनामेल पनि बिक्री हुन्छ ।

मोटरबाटो दुर्गम बस्तीसम्म उक्लिएपछि परम्परागत ढुंगेघर भत्काएर कंक्रिट भवन बनाउने र नसक्नेले पनि घर दैनिक लिपपोत गर्न सजिलोका लागि पिंढी र भुँइ ढलान गर्ने चलन बढेको छ । घर रंग्याउन कारखानामा निर्मित रंगको प्रयोग बढे पनि गाउँघरमा अझै रातो माटो, कमेरोले पोतेर घर रंग्याउने चलन हटेको भने छैन ।

लेकाली बस्तीका प्रायः बस्तीमा सदरमुकाम छेउको रत्नेचौरबाट रातो माटो पुर्‍याउन असजिलो भएकोले स्थानीय रूपमा पाइने कमेरोले घर पोत्ने गर्छन् । बेनी नगरपालिका–१ रत्नेचौरका विदुर किसानले सार्वजनिक जग्गाबाट माटो निकाल्न नपाइने भए पनि निजी जग्गाबाटै माटो दिने गरेको बताए ।

‘टाढाबाट दसैंमा घर रंग्याउने माटो लिन आउँदा रित्तै के फर्काउनु भनेर खन्न दिन्छौं,’ उनले भने, ‘टाढाबाट आउनेले माटोको भारी राखेर लैजान्छन् । गाडीको सुविधाले गर्दा पहिला पहिला जस्तो रत्नेचौरमा रातो माटो खन्ने मेला लाग्दैन ।’

घर रंग्याउने रातो माटो खन्ने मात्र होइन, घरको दैलो तथा चुल्हो दैनिक लिपपोत गर्न भने स्थानीय रूपमा पाइने चिम्ट्याइलो कैलो माटो नै प्रयोग गरिन्छ । माटो खन्ने ठाउँलाई मटकिलो भन्ने गरिन्छ । रातो माटो पोतेको घर चिटिक्क परेको राम्रो देखिए पनि माटो खन्न भने सजिलो हुँदैन । गहिरा सुरुङ जस्ता मटकिला भित्र पसेर माटो झिक्दा भत्केर बर्सेनि गृहिणीहरूको मृत्युसमेत हुने गरेको छ । घनश्याम खड्का/कान्तिपुर

२०७९ आश्विन १३, बिहीबार प्रकाशित