१ करोड ३६ लाख लागतमा रुपातालमाथि झोलुङ्गे पुल निर्माण

|

पर्यटकलाई आकर्षित गर्न रुपाताल माथि झोलुङ्गे पुल बनाइएको छ । पोखराको लेखनाथमा रहेको रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो ।

महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को सिमलटुँडा जोड्ने गरेर पुल निर्माण भएको हो ।

पुल निमार्णपछि रुपा गाउँपालिका ६ का स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ ।

भङ्गारा पचभैया ट्रेल ब्रिज नामकरण गरिएको यो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार रुपैयाँ लगानीमा बनेको हो । पुलको लम्बाइ २ सय ६९ र चौडाइ एक मिटर रहेको पूर्वाधार विकास कार्यालय कास्कीका इञ्जिनियर हरि थापाले जानकारी दिनुभयाे ।

पुल बनेसँगै पर्यटकीय गतिविधि बढेको छ । आन्तरिक पर्यटकहरु टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

२०७९ श्रावण ११, बुधबार प्रकाशित