चौरीको आलो रगतले रोग निको हुन्छ त ?

|

मुस्ताङको सदरमुकाम जोमसोममा रहेको घरपझोङ गाउँपालिका –५ नमखुलेकम्ँ चौंरी र याकको आलो रगत पिउने मेलामा रगत पिउनकै लागि सर्वसाधारणको भीड लागेको छ। साउन ४ मा शुरु भएको उक्त मेलामा दैनिक सयजनाभन्दा बढी मानिस चौंरी र याकको आलो रगत पिउन आउने गरेका स्थानीय चौंरीपालक कृषकहरू बताउँछन्। मुस्ताङ, म्याग्दी, पर्वत र पोखराबाट समेत मानिसहरू चौंरीखर्क पुगेर रगत पिइरहेका स्थानीय इन्द्रसिंह शेरचनले जानकारी दिए। उनका अनुसार हिमाली लेकमा पाइने शक्तिवर्धक जडिबुटी यार्सागुम्बा, जटामसी, निरमसी, कुटकी, वन लसुन, पाँचऔंले, जिम्बुलगायत खाने भएकाले याकचौँरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वासका साथ मानिसहरू चौंरीको रगत पिउन आउन गर्छन्।

यसरी चौंरी र याकको आलो रगत खानाले यौनशक्ति वृद्धि हुने, ग्यास्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसरलगायत रोगहरू निको हुने स्थानीयको भनाइ रहेको छ। तर यस विषयमा चिकित्सकहरू भने मौन छन्। उनीहरूका अनुसार स्वास्थ्य परीक्षण नगरीकन कुनै पनि जीवको रगत र मासु सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। मुस्ताङको सदरमुकाम जोमसोमदेखि ठिनी हुँदै करिब एक घण्टाको पैदल यात्रापछि याक खर्कमा पुग्न सकिन्छ। प्राकृतिक सुन्दरताले युक्त नमखुलेकको याकखर्क अहिले रोमाञ्चक र पीडादायी दुवै किसिमका दृश्य एकैसाथ देखिएका याक खर्कमा पुगेका राजन सापकोटाले बताए।

सिमसिम पानी परेको बेलामा नमखुलेक र याकखर्कको सुन्दरताले लोभ्याउने भए पनि याकचौंरीको घाँटीमा चक्कुले रेटेर निकालेको रगतको धारा गिलासमा भरेर घुटुघुटु पिएको दृश्य भने निकै पीडादायी लाग्ने उनको भनाइ छ। चौंरी मेलामा किसानहरूले पालेका २ सय ५० भन्दा बढी चौंरी र याकलाई ल्याइएको छ।

ती याक र चौंरीलाई तालिमप्राप्त सिपालु मान्छे (स्थानीय भाषामा आम्जी) ले घाँटीमा नसा पत्ता लगाइ चापो (एक किसिमको चक्कु)ले नसा काटेर रगत निकाल्ने गर्छन्। रगत निकालिसकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौंरी छाडिन्छ। यहाँका खर्कहरूमा प्रत्येक वर्ष साउन र वैशाख गरी दुई पटक आलो रगत निकालेर बिक्री गर्नका लागि नै चौंरीको रगत पिउने मेला आयोजना हुँदै आएको छ। घरपझोङ गाउँपालिकाको नमखलेक र थासाङ गाउँपालिकाको मार्चे लेकमा पनि अहिले चौंरीको रगत निकाल्ने मेला सञ्चालन भएको छ।

नमखुलेखको याकखर्क निलगिरी हिमालको फेंदमा रहेको छ। यो क्षेत्र प्राकृतिक सुन्दरताले समेत चित्ताकर्षक छ। हिमालको काखमा पुगेर विशुद्ध प्राङ्गारिक जडिबुटी खाएका याक चौंरीको रगत पिउँदै हिमाली सौन्दर्यमा लठ्ठिन पाउँदै निकै आनन्द आएको याकखर्कमा पुगेर चौंरीको रगत पिएर फर्किएका म्याग्दीका युवा सन्तोष सुवेदीले बताए।

‘आलो रगतमा किटाणु फैलिएको हुन्छ’

यता चिकित्सकले आलो रगतले रोग निको हुने जनविश्वास मात्रै भएको बताएका छन् । आलो रगत र मासु विज्ञानमा ताजा रगत खान योग्य बस्तु वा भागको रूपमा परिभाषित गरिएको छैन बरू रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू रहेका हुन्छ । सामान्य शारीरिक प्रक्रिया अनुसार संक्रमण गराउने हानिकारक विषाक्त तत्वहरू रगतको शुद्धीकरण प्रक्रिया पछि मूत्र प्रणाली मार्फत् बाहिर जान्छन् ।यसकारण तातो ताजा रगत पिउनाले रगतमा हुने हानिकारक विषाक्त तत्वहरूका कारण मानव स्वास्थ्यमा जोखिम खडा गर्न पनि सक्छन् ।

यसले पशुबाट मानवमा सङ्क्रामक रोगहरू सर्ने मात्र नभइ वातावरणबाट पशुमा पनि सङ्क्रामक रोग फैलिने संभावना पनि उत्तिकै हुने काठमाण्डौ भौसिपाटीको नेपाल मेडिसिटी अस्पतालका इमरेजन्सी इन्र्चाज डा. धिरेन मल्लले बताए । आलो रगतले बाहिरी किटाणुहरु सर्न सक्ने बताए । मेला रोक्न असम्भव भएकाले पशुको स्वास्थ्य परिक्षण सहित जनचेतनामुलक कार्यत्रहरु सञ्चालन गरी विस्तारै प्रयोगकर्तालाई घटाउनुपर्नेमा चिकित्सकहरुको सुझाव छ । बि.स २०५३ साल देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रालेकमा हिमाञ्चल उच्च मावि नागी र पाउद्धार माविको शैक्षिक तथा भौतिक पुर्वाधार जुटाउन हरेक बर्षको दुईपटक मेला लाग्ने गरेको छ । आलो रगतमा उपचारका लागि हालसम्म विश्वभरका चिकित्सकले कुनैपनि तथ्य फेला पारेका छैनन् । नेपालमा हुने चौरीको आलो रगत पिउने मेलालाई चिकित्सकले अनौठो र अन्धविश्वासको कारण मान्ने गरेका छन् ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित