उमेरले ८० वर्ष प्रवेश गरेका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसकेका छन् ।
पञ्चायतकालदेखि नै मतदान गर्दै आएका उनका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता-कार्यकर्ताले निर्वाचित भएपछि काम गर्दैनन् । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्छन् । निर्वाचित भएपछि यसलाई बिर्सन्छन् । अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् ।
पछिल्लो पटक विसं २०७४को वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश एवं सङ्घीय सांसदका लागि उनले मत खसाले । जोरपाटी-थली-साँखु सडकको नजिकैको घरमा बस्दै आभएका उनी जस्ता हजारौं नागरिकले विगत सात वर्षदेखि धुलो र हिलो भएको सडकको सास्ती भोग्नुपरेको छ ।
विसं २०७२ मै ठेक्का भएको यो सडक पाँच वर्षअघिको निर्वाचनताका पनि यस्तै धुलाम्य र हिलाम्य थियो । अहिले पनि उस्तै छ । त्यसबेला तीनै तहको निर्वाचनमा मत माग्न आउँदा विभिन्न दलका नेता, कार्यकर्ताले आफूले जिते धुलो र हिलोको समस्या समाधान हुने प्रतिबद्धता जनाएका थिए । स्थानीयवासीका अनुसार विगत पाँच वर्षमा सो सडकको अवस्थामा सुधार भएन । सडक किनारका घरले उठाउँदै आएका मुद्दा समाधान गरिएन ।
‘चुनावप्रति अब ममा उत्साह नै छैन, मत हाल्न पनि जाऔं कि नजाऔं जस्तै लाग्न थालेको छ, धुलो र हिलोले बसिसक्नु छैन’, जीवनको आठ दशक पार गरिसकेका कुइँकेलले भने । कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र समेत रहेको थलीका मतदाताको मोह कान्ति भैरव माध्यमिक विद्यालयका नाममा रहेको ठूलो चौरको विभिन्न तहबाट भएको अतिक्रमणले पनि भङ्ग भएको छ ।
दुई दशकदेखि नै विद्यालयको जग्गा वरिपरिबाट स्थानीय सीमामा परेका जग्गाधनीले नै मिचेका थिए । नगरपालिकाको भवन त अन्तिम चरणमा पुगेको छ । खुला चौर भने मासिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि हजारौं मानिसले थली चौरको खुला आकाशमुनि आश्रय लिएका थिए । अन्यत्रको सार्वजनिक जग्गामा नगरपालिकाको भवन बनाउन सकिने भए पनि विद्यालयको जग्गा स्थानीय सरकारले उपयोग गर्दा विपद्मा आश्रय लिने ठाउँ नभएको स्थानीय सृजना पौडेलले सुनाइन् ।
‘थली चौर यहाँको सान थियो, भूकम्प, आगलागी, बाढी पहिरो जस्ता विपद्मा अब कहाँ गएर आश्रय लिने ?’ स्थानीय तहका जनप्रतिनिधिलाई उनको प्रश्न छ । स्थानीयवासी ३० वर्षदेखि हिँड्दै आएको बाटो बन्द भएर दुःख पाएको गुनासो गर्छन् ।
एक दशक अघिदेखि थली चौरको करिब ३०० मिटरभित्र घर बनाएर बस्दै आएका तुलसीप्रसाद चौंलागाई एक वर्षदेखि बाटो नपाएको सुनाउँछन् ।
न्यायिक समितिमा एक वर्ष अघिदेखि उजुरी दर्ता गरे पनि न्याय नपाएको उनको दुःखेसो छ । न्यायिक समितिले तीन महिनामा न्याय दिनुपर्ने कानुनी व्यवस्था भए पनि पूरा भएको छैन । स्थानीय तहमा सानातिना मुद्दा मिलाउन सक्ने गरी न्यायिक समितिको व्यवस्था गरे पनि त्यो प्रभावकारी हुन नसकेको बताइएको छ ।
कागेश्वरीमा केन्द्रमा भन्दा बढी समस्या वडावडामा छ । नगरपालिकाको-६ मूलपानीको भित्री सडक दुई महिनादेखि ढलान एवं स्तरोन्नति रोकिएको छ । व्यक्तिले आफ्नो रुचिअनुसार सडकमा जग्गा नपार्न चाहेकाले काम रोकिएको स्थानीय पीडित विदुर सापकोटा बताउँछन् ।
आसन्न निर्वाचनका लागि नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । नौ वडा रहेको नगरपालिकामा नगर प्रमुखका ११, उपप्रमुखका पाँच उम्मेदवार मैदानमा छन् । वडाध्यक्ष र सदस्य समेतको गरी कूल २०९ जना उम्मेदवारले प्रतिष्पर्धा गरिरहेको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिइन् ।