म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँ चिसापानीमा पुरानो मन्दिर सुनबहादुर विश्वकर्माको अगुवाईमा निर्मित भयो। सन् सन् १९८३ सालमा निर्मित जिर्ण दुर्गा भगवती कालिका माईको मन्दिर बनाउन विश्वकर्मा दिनरात खटिए। सरकारी निकाय,स्वदेश तथा विदेशमा रहेकाको सहयोगमा विश्वकर्माले मन्दिर ठड्याए। देबीको नाउमा गैर दलितले दलितमाथि थिचोमीचो हुन्छ भन्ने प्रसस्तै उदाहरण आफ्नै आँखाले देखेका विश्वकर्मालाई मन्दिर बनाउन स्थानीय गैरदलितले समेत साथ दिए।
दलित र गैरदलितको भब्य उपस्थितीमा मन्दिरमा भब्य कार्यक्रम गरी मन्दिर निर्माण समितिका अध्यक्ष विश्वकर्मालाई भव्य सम्मान समेत गरिएको थियो। मन्दिरका पुजारी चन्द्रबहादुर राम्जालीले स्थानीय जनआवाज आधारभुत विद्यालयका प्रअ समेत रहेका विश्वकर्मालाई मन्दिरको चावी नै हस्तान्तरण गरे। ‘मन्दिरका भगवानले दलित–गैरदलित भनेर विभेद गर्नुहुँदैन। मन्दिर सबैको लागि हो,’ पुजारी चन्द्रबहादुरले भने। उनले मन्दिरमा नियमित पूजाआजामा दलित समुदायलाई कुनै रोक नभएको बताए। स्थानीय गैरदलित यूवाहरूले समेत मन्दिर सधै सबैका लागि खुल्ला रहेको सन्देश दिँदै आर्थिक सहयोगका साथै दलित अगुवाहरूसँग मिलेर मन्दिर बनाउन सघाएपछि स्थानीय दलित समुदाय समेत उत्साहित भएका छन्।
कानुन नै बनाएर छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाइएको र धेरै ठाउँमा सार्वजनिक कार्यक्रम छुवाछुतमुक्त घोषणा गरिएको भए पनि व्यवहारमा कार्यान्वय नभइरहेको अवस्थामा पूर्णगाउँबासीले सन्देश दिन सफल भएको मन्दिर निर्माण समितिका संयोजक विश्वकर्माले भने। ‘जातीय विभेद कायमै रहेको भन्नेहरुलाई मन्दिरमा स्वागत छ। मन्दिरमा दलित प्रवेश रोक्नेहरूलाई हामीले सन्देश दिन सफल भएका छौ,’ विश्वकर्माले भने। उनले दलितलाई सहज मन्दिरमा जाने वातावरण देशैभर बनाउन सकेमा धर्मपरिवर्तन ह्वात्तै घट्ने बताए।
मन्दिरमा दलितको श्रम चल्ने, शिप चल्ने तर पूजा गर्न दलितलाई नचल्ने अवस्थाको अन्त्यमा समुदायको साथ रहेको राष्ट्रिय जनजागृति माविका प्रअ टेक राम्जालीले बताए। ‘समुदायमा सबैको हातेमालो आवश्यक पर्छ। सभ्य समाज बनाउन विभेदको अन्त्य हुनुपर्छ,’ राम्जालीले भने। मन्दिरको ढोकाबाट दलित फर्किनुपर्ने, मन्दिरमा प्रवेश गर्दा अवरोध, जातिय विभेदका अनेक रुपले दलित समुदायले हिन्दु धर्म नै परिवर्तन गर्नुपर्ने बाध्यता हुनुपरेको बताए। मन्दिरका पुजारी समेत प्रअ राम्जालीका बुबा हुन्।
मन्दिर निर्माणमा करिब ९ लाख खर्च भएपनि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशबाट ४ लाख, वडाबाट १ लाख ३० हजार, मंगला गाउँपालिका ८५ हजार बाहेक सबै चन्दा सहयोग भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।