न्याय माग्न आएकी ‘बलात्कृत’लाई नै जेल ?

|

आफैंमा दुर्गम जिल्ला अछामको पनि एउटा दुर्गम गाउँकी १९ वर्षीया युवतीको जीवनमा वज्रपात आइलागेको छ । बिहेको प्रलोभनमा आफूमाथि बलात्कार गर्ने पुरुषलाई सजाय माग गर्दै गत फागुनमा उनी अदालत गएकी थिइन्, नेपालमा विरलै हुने ‘तीव्र गति’ को सुनुवाइबाटै एक महिनामै फैसला आयो ।

अदालतले आरोपी पुरुषलाई इज्जतपूर्वक सफाइ दिँदै युवतीलाई भने साढे तीन वर्ष जेल पठाउन आदेश दिएको छ । अदालतमा झूटो बयान दिन, पुरुषलाई जानाजान फसाउन महिलाहरूले ‘षड्यन्त्र’ बुनिरहेका हुन्छन् भन्ने मानसिकतालाई यो घटनाले राहत दिएको छ । महिलालाई यसरी पनि सबक सिकाउनुपर्छ भन्ने बहसलाई यो फैसलाले बलियो पनि बनाएको छ । तर ‘षड्यन्त्रको सिद्धान्त’ पछाडि निरीह पात्रलाई कसरी प्रताडित गरिन्छ भन्ने स्पष्ट पार्न यो ‘न्युज स्टोरी’ म आफ्नै शैलीमा प्रस्तुत गर्दै छु ।

गत फागुन १० मा दर्ता भएको मुद्दाको फैसला ठ्याक्कै ३३ दिनमा आयो, गत आइतबार फैसला आए पनि तीन दिनसम्म यो विषयमा चर्चा भएको थिएन । ‘नजिर नै बसाउने’ फैसला हुँदा पनि कतै चर्चा नभएको भन्ने मानसिकताले होला, अछाम जिल्ला अदालत प्रशासनले नै बुधबार फोन गरेर हामी पत्रकारलाई समाचार टिपायो । अदालतभन्दा भरपर्दो समाचार स्रोत के हुन्छ ? त्योमाथि फैसलाको प्रतिलिपि पनि साथमा थियो । त्यसैले हामी अछामका सबैजसो पत्रकारले आ–आफ्ना समाचार फाइल गर्‍यौं । समाचार एकसे एक सञ्चारमाध्यममा भाइरल पनि भए ।

‘न्याय माग्न गएकी युवतीलाई जेल पठाउने’ फैसला आम होइन । दोषी हो भने पुरुष वा महिला जोसुकैलाई पनि दण्ड हुनुपर्छ । तर, यति ठूलो अपवाद सिर्जना गर्नुअघि स्वयं अदालत घटनाको अवस्थिति र दुवै पक्षको मनस्थितिमा संवेदनशील भयो वा भएन भन्ने विषय महत्त्वपूर्ण थियो । त्यो खोज्नु प्रेसको दायित्व पनि हो । युवती जोसँग बिहे गर्न तयार भएकी थिइन्, उसैले बलात्कार गर्‍यो भन्दै अदालतमा किन गइन् ? प्रहरी र सरकारी वकिलका अगाडि दिएको बयान उनले अदालतमा किन फेरिन् ?

अदालतमा अरूले पनि बयान फेर्छन् तर त्यसका पछाडि पीडितलाई वा ललाइफकाई गर्ने, आर्थिक प्रलोभन दिने, सामाजिक तथा मानसिक यातना दिने उपक्रमहरू पनि चल्छन् । दुर्गम गाउँकी एक अशिक्षित युवतीले बयान फेर्नुअघि त्यस्ता यन्त्रणा भोग्नुपरेको पनि हुन सक्छ भनेर न्यायमूर्तिले विवेक पुर्‍याए कि पुर्‍याएनन् ? अथवा समग्रमा अदालतले यो मुद्दा सुल्झाए कि बल्झाए ? यी यावत् प्रश्नले बुधबार रातभर मेरो निद्रा बिथोलिरह्यो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित