चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति परराष्ट्रमन्त्री डाक्टर नारायण खडकालाई चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । गत जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएतापनि कोरोना महामारीका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ ।
यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । त्यसअघि बालुवाटारमा प्रधानमन्त्री देउवा र विदेशमन्त्री वाङ यी आपसीसम्बन्धका बारेमा छलफल भएको परराष्ट्रमन्त्री खड्काले बताए ।उनले नेपाल र चीनबीच विभिन्न बिषयमा समझदारी भएको पनि बताए । चीनका राज्यपरिषदका सदस्य एवं विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।