राप्रपा म्याग्दीले सबै स्थानीय तहमा उम्मेदवार उठाउने

|

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा रहेका ठूला राजनीतिक दलसँग तालमेल नगरी जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारी दिने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालयमा मनोनयन तथा स्थानीय तह लक्षित कार्ययोजना सार्वजनिक गर्दै ठूला पार्टीसँगको चुनावी तालमेलले कार्यकर्ता पलाउन र संगठन नै कमजोर भएकाले एकल उम्मेदवारीको विकल्प नभएको भन्दै वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित पार्टीको संगठन सुदृढ र क्रियाशील गर्ने निर्णय गरेको हो।

पूर्वराज्य मन्त्री भिमप्रसाद गौचनको प्रमुख आतिथ्यतामा बसेको बैठकले टोल–टोलमा पुगेर संगठन विस्तार तथा पुनर्गठनसहितका अभियानमा जुट्ने निर्णय भएको जिल्ला कार्यसमिति सह–सचिव देबेन्द्रबहादुर घिमिरले बताए। बैठकमा पूर्वराज्यमन्त्री गौचनले देशैभरी राप्रपमा जनलहर रहेकाले म्याग्दीको बस्तीमै पुगेर राष्ट्रियता र प्रजातन्त्रका बारेमा जनतालाई एकजुट बनाउनुपर्ने  बताए।

‘यसपटक राष्ट्रियता बेच्ने र जोगाउने बिचको लडाई हो,‘जनतालाई ठूला दलले दिएको यातनाको बदला चुनावबाटै लिन्छौ’, राज्यमन्त्री गौचनले भने। म्याग्दी जिल्लामा पञ्चायतकालमा आफूले गरेको विकासले नै जनतालाई सहज भएको बताउँदै गौचनले यसपटक एमसीसीमा ठूला दलको राष्ट्रघातविरुद्ध राप्रपालाई साथ दिन समेत अपिल समेत गरे।

बैठकमा अघिल्ला निर्वाचन जस्तै यसपटक कुनैपनि दलसँग तालमेल गर्न नहुने भन्दै नेताकार्यकर्ताको संरक्षणमा वडादेखि पालिकासम्म एकल उम्मेदवारी  दिनुपर्नेमा जोड दिए। जिल्ला अध्यक्ष बिरबहादुर थापाले अब स्थानीय तह केन्द्रित प्रशिक्षण् गरी चैत्र महिनाभित्र उम्मेदवार छनौट गर्ने गरी अभियान सुरु भएको बताए।

केन्द्रबाट जारी सर्कुलरमा राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशा रहेकाले सोही अनुसार चल्ने राप्रपाले जनाएको छ। यसबीच सातौँ म्याग्दी जिल्ला अधिवेशनबाट मनोनित हुन बाँकी रहेका पदमा मनोनित गरिएको छ।

मनोनित हुनेमा जिल्ला उपाध्यक्ष जगतनारायण गौचन, उपाध्यक्ष डम्बरबहादुर सुबेदी, महिला उपाध्यक्ष  सञ्जु बरुवाल, प्रवक्ता योगेन्द्रमान शेरचन, सचिव श्यामप्रसाद श्रेष्ठ, कोषाध्यक्ष हिक्मत शेरचन, सह–सचिव देबेन्द्रबहादुर घिमिरे, सह–सचिव हरिबहादुर शाक्य, कार्यसमितिमा जर्नेल खड्कबहादुर मल्ललाई मनोनित गरिएको छ।

२०७८ फाल्गुन २३, सोमबार प्रकाशित