म्याग्दी जिल्लाको अत्ति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम आर्थिक अभावका कारण रोकिएको छ ।
लुलाङको जओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गको लागि २ अर्ब ६ करोड रुपैयाँ लाग्ने भएको छ । तर सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष भकबहादुर छन्त्यालले बताउनुभएको हो ।
सुरुङ मार्गको सर्वे अत्याधिक लागतका कारण प्रक्रियामा नै लैजान नसकिंदा अहिले अबरुद्ध भएको उहाँको भनाइ छ । सुरुवाती चरणमा मात्रै साढे ४ लाख खर्च भएको अध्यक्ष छन्त्याले बताउनुभयो ।
स्रोत जुटाउन नसक्ने अवस्थामा पुगेपछि सो सुरुङ मार्ग सर्वेको काम अघि बढाउन नसकिएको उहाँको तर्क छ । सुरुङ मार्ग यहाँका लागि अत्ति महत्वपूर्ण भएतापनि आर्थिक अभावका कारण योजनाबाट नै हटाउन बाध्य भएको उहाँले बताउनुभएको छ ।
जिल्लाकै अत्ति विकट गुर्जा गाउँमा सडक संजालको विकल्पको रुपमा लिईएको सुरूङमार्गको विषयमा प्रदेश र संघीय सरकारलाई समेत जानकारी गराउँदासमेत पनि कुनै चासो नदिएको अध्यक्ष छन्त्यालले बताउनुभएकाे छ ।
प्रारम्भिक सर्वेको जिम्मा पाएको स्टन्थ डललर्प प्रालिका इन्जिनियर कृष्ण गौतमको टोलीले पटक–पटक गरेको स्थलगत अनुगमनको आधारमा लुलाङदेखि गुर्जासम्मको पहाडमा भूकम्प र पहिरोको सम्भावना समेत रहेको बताएकोथियो ।
तर फिजिविलिटी अध्ययनमा प्रस्तुत गरिएको लागतमा जलविद्युतको टनेलको आकारमा एक मिटरलाई सुरुङ बनाउन १० लाख लागत लाग्ने देखिएको धवलागिरि गाउँपालिकाका वडा अध्यक्ष छन्त्यालले बताउनुभएको हो ।
साथै तत्काल छिमेकी वडाबाट सडक विस्तार गर्न सकिने अवस्था नभएकाले अध्यक्ष छन्त्यालले सो प्रस्तावलाई गाउँपालिकाबाट पारित गराई प्रारम्भिक सर्वेको प्रक्रियाका लागि बजेटसमेत विनियोजन गर्नुभएको थियो ।
तर गुर्जा जिल्लाको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेकोछ । लुलाङबाट देउरालीको उकाली ओराली हुँदै गुर्जा पुग्न ८ घण्टा लाग्ने गर्छ । यस्तो दुर्गम ठाउँलाई सुरङ मार्ग मार्फत करिब आधा घण्टाको दुरीमा जोड्न सकिने सम्भावना रहेको भएतापनि आर्थिक अभावका कारणले हात झिक्नुपर्ने अवस्था आएकोमा अध्यक्ष छन्त्यालले दुःख व्यक्त गर्नुभएको छ ।
म्याग्दीको लुकेको बस्ती भनेर चिनिने गुर्जाबाट गुर्जा हिमाल,चुरेन हिमाल र पुर्जा हिमाल नजिकै पर्दछन् ।यहाँ तामाखानी, कर्ज स्टोनको खानी,लगाएतका बहुमूल्य धातुका खानीहरु र जडिबुटीको अपार भण्डार रहेकोछ । गुर्जाका स्थानीयािसीले गाउँलाई सडक संजालसँग जोड्नका लागि वर्षौदेखि माग गर्दै आइरहेका छन् ।
तर उनीहरुको माग पूरा हुन भने अझै सकेको छैन ।