गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अङ्गमा हुने क्यान्सरको उपचारमा ५० हजार रूपैयाँ सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा श्रीराम तिवारीले आज निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार गण्डकी प्रदेशका स्त्री प्रजनन अङ्गसँग सम्बन्धित क्यान्सरको उपचारका लागि प्रदेश सरकारले ५० हजार रूपैयाँ बराबरको सहुलियत दिनेछ ।
नेपाल सरकारले उपलब्ध गराउने १ लाख रूपैयाँ खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने कार्यकारी निर्देशक डा गौतमले जानकारी दिए । उनले भने, “गण्डकीका महिलाले प्रजनन् अङ्गसँग सम्बन्धित क्यान्सरको उपचार गर्दा नेपाल सरकारको १ लाख रूपैयाँपछि प्रदेश सरकारको ५० हजार रूपैयाँ सहुलियत पाउने छन् ।”
उनका अनुसार स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सरलगायतको उपचारमा यो सहुलियत लिन पाइनेछ । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाले यो सुविधा लिन पाइने डा. गौतमको भनाइ छ । सचिव डा. तिवारीले प्रदेश सरकारको नीतिअनुरुप नै यो सम्झौता गरिएको बताए ।
उनले आगामी वर्षको कार्यक्रममा महिला, पुरुष र बालबालिकामा हुने सबै खालका क्यान्सरमा सहुलियत दिने कार्यक्रम ल्याउने योजना रहेको बताए । उनले भने, “यो सुरुआत मात्रै हो, आगामी वर्षको कार्यक्रममा सबै खालका क्यान्सरमा सबैले सहुलियत पाउने गरी योजना ल्याउँदैछौं ।” रासस