मृगौला रोगबाट ग्रसित बेनी नगरपालिका–६, डम्बराका ३६ बर्षिय सुनिल किसानको उपचारमा दक्षिण कोरियाबाट आर्थिक सहयोग गरिएको छ । ८ महिना अगाडी दुवै मृगौलामा खरावी भएसँगै उपचारमा आर्थिक समस्या झेल्दै आएका किसानलाई अंकित शेरपुञ्जाको पहलमा कोरियामा १ लाख ८० हजार आर्थिक संकलन गरिएको थियो ।
संकलित रकम मंगला गाउँपालिका वडा नं १ भर्जुलाका वडा सदस्य ओमकुार शेरपुञ्जाले पीडितलाई हस्तान्तरण गर्नुभएको कमल किसानले जानकारी दिनुभयो । नियमित डायलासिस सहित औषधी सेवनमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गर्नुभएको समाचार बेनीअनलाइनबाट प्रकाशित भएको थियो । ‘यो सहयोगले उपचारमा धेरै सहज हुने छ,‘आर्थिक अभावकै कारण मलाई उपचारमा निकै समस्या भइरहेको छ’ पीडित किसानले भन्नुभयो ।
बैदेशिक रोजगारको सिलसिलामा बहराइनबाट घर विदामा आउनुभएका किसानको उच्च रक्तचापका कारण मृगौलामा समस्या देखिएपछि पोखरा र काठमाण्डौको अस्पतालमा उपचारसँगै नियमित औषधी सेवन गरिरहनुभएको थियो । उपचार, यातायात, आवास, औषधी लगाएत विभिन्न खर्च गरी करिव १३ लाख लाग्ने भएपछि सहयोगको खोजीमा रहेको श्रीमति शान्ति किसानले बताउनुभयो ,। ‘नियमित उपचारसँगै प्रत्यारोपणको प्रक्रियामा लाग्ने खर्चको अभाव छ,‘नियमित कमाईले छोराछोरीको शिक्षादीक्षामा पनि पुग्दैन’श्रीमति किसानले भन्नुभयो ।श्रीमानलाई मृगौला दिन आफ्नो समेत नियमित परीक्षण भइरहेको किसानको भनाई छ ।