एप्लास्टिक एनिमिया रोगबाट ग्रसित पाल्पा जिल्ला तानसेन नगरपालिका-८ की २३ बर्षिया शर्मिला ठाडाको उपचारमा आर्थिक अभाव भएको छ । आफ्नै शरीरले बोनम्यारोभित्र हुने रगत बनाउने ’सिस्टम सेलमा समस्या देखिएपछि निजामती कर्मचारी अस्पताल काठमाण्डौमा उपचारार्थ पीडित ठाडाको नियमित उपचार र औषधी सेवनमा समेत आर्थिक अभाव भएको हो ।
गर्भवती अवस्थामा ज्वरो आइरहने, शरीर फुल्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिएपछि चेकजाँच गर्दा बोनम्यारोमा समस्या देखिएपछि उपचार गराइरहेको अवस्थामा हाल आर्थिक अभावकै कारण काठमाण्डौमा अलपत्र परेको उनका श्रीमान बिकाश ठाडाले बताउनुभयो । ‘अहिले रगत किन्ने पैसा पनि छैन्,‘अहिलेसम्म एघार लाखभन्दा बढी सकियो’ खाडाले भन्नुभयो ।
उहाँले बोनम्यारोमा समस्या देखिएपछि नियमित स्वस्थ रगत शरीरमा पठाउनुपर्ने अवस्था भएपनि रगत तथा नियमित औषधी किन्न नसक्ने अवस्थाकै कारण श्रीमती जीवन–मरणको संघारमा पुगेको बताउँदै स्वदेश तथा विदेशमा रहेका सबै मनकारीमा सहयोगको याचना गरेको बताउनुभयो ।
गर्भवती अवस्थामा रहेकी श्रीमतिमा अचानक समस्या आएपछि अस्पतालमै जन्मिएको छोरा समेत ७ महिनाको पुगेको छ । काठमाडौंमा बसेर श्रीमतिको उपचार गराउँदा खान बस्नको समेत समस्या भइरहेको ठाडाले बताउनुभयो । ‘अझै २५ लाखभन्दा बढी खर्च हुन्छ,‘उपचारका लागि थप रकम कहाँबाट जुटाउँ ? विकाशले दुःखेसो गर्नुभयो ।
यता पीडित शर्मिलाले नियमित उपचारको अभावमा दुखाई निकै बढेको बताउँदै सबैको साथ र सहयोग पाए नयाँ जीवन पाउने बताउनुभयो । ‘मेरो छोराछोरीको लागि पनि मैलो बाच्नुपर्छ,‘आर्थिक सहयोग पाएमात्रै मैले नयाँ जीवन पाउँछु’ उनले फोनमा भन्नुभयो । प्रत्यारोपणका लागि सबै तयारी भएपनि आर्थिक अभावले रोकिएको शर्मिलाको भनाई छ ।
अस्पतालमै जन्मिएको छोरालाई समेत राम्रो रेखदेख गर्न नपाउँदा बेलाबेलामा बिरामी समेत हुने गरेको छ । एप्लास्टिक एनिमिया भएको समयमै पत्ता लागेकाले समयमै प्रत्यारोपण गरियो भने उमेर अनुसार ६० देखि ९० प्रतिशतलाई निको पार्न सकिन्छ ।
नेपालमा एप्लास्टिक एनिमिया भएका एक सय जनाको प्रत्यारोपण नगरी सामान्य उपचार मात्र गर्ने हो भने ३५ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ ।बोनम्यारो पिडित शर्मिलालाई उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुले ग्लोवल आइएई बैंकमा रहेको खातामा सहयोग गर्न तथा थप जानकारीका लागि सम्पर्क नम्बर ९८४०९५३४४९,९८६७९३४५८० मा सम्पर्क गर्न सकिन्छ ।