म्याग्दीका जसबहादुरको भारतमा कोठी ‘यौनगृह’!

|

म्याग्दीका एक पुरुषले भारतमा पुगेर कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ। बेनी नगरपालिका–३,भकिम्ली ठोट्नेरीका जसबहादुर श्रीष र श्रीमती पार्वती चन्द श्रीष नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ।

भारतमा बेचिएकी म्याग्दीकी एक महिलाको १६ वर्षपछि आफन्तले उद्धार गरी मानव बेचबिखन ब्यूरोमा परेको जाहेरीका आधारमा विगत डेढ दशकदेखि भारतमा कोठी सञ्चालन गर्ने मानव तस्कर जसबहादुरको पहिचान खुलेको हो। विपन्न परिवारका युवती, विवाहित र पारपाचुके गरेका महिलालाई आर्कषक जागिरको प्रलोभनमा मानवतस्कर श्रीषले सिमापारी लैजाने गरेको अनुसन्धानबाट देखिएको छ।

कोठी (वेश्यावृत्तिका लागि तोकिएका घर) सञ्चालन गर्ने महिलासँग सम्बन्ध जोडिएपछि जसबहादुरले बेला–बेलामा नेपालमा आएर आफन्तको घरमा काम लगाई दिन्छु भन्ने बहानामा सिमाना नजिकको बस्तीमा पुर्‍याउने र बेहोस हुने औषधि खुवाएर भारतको पैसा आउने कोठीमा पुर्‍याएर बिक्रीमा सक्रिय छन्। उनले भारतमा रहेका आफन्तहरूलाई भेटाउने बाहनामा नेपालबाट चेलिबेटी लैजाने र बिचबाटोबाटै ‘रेड लाइट’ क्षेत्रमा कोठीमा बिक्री गर्ने गरेको उद्धार गरिएकी युवतीको बयानका तथा श्रीमती र छोरीको प्रारम्भिक भनाईबाटै पुष्टी भएको छ। गाउँमा समेत आफन्त पर्ने एक महिलामाथि अनैतिक सम्बन्धका कारण लामो समय भारतमै बसेर बेला–बेलामा लुकिछिपी घरमा आउने परेको स्थानीयले बताएका छन्।

जसबहादुरको सहयोगमा भारतसम्म पुगेकी एक महिलाको उद्धारपछि पीडितले दिएको जाहेरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोमार्फत गत माघ ४ गते मोटरसाईकलमा पुगेको म्याग्दी प्रहरीको टोलीले मुख्य अभियुक्त जसबहादुर र उनीकी श्रीमती र छोरी रेखा चन्द मगर लाई लिएर स्थानीय सवारीसाधनबाट बेनी आउँदै गर्दा बिरामीको बाहना बनाएर बनाएर एक्कासी प्रहरीमाथि नै हातपात गरी भागेको थिए। परिवारको नागरिकता बनाउन दशैं अगाडी नै नेपाल आएका जसबहादुर केही समय पोखरा र सदरमुकाम बेनीमा कोठा भाडामा लिएर बसेको अवस्थामा माघ ३ गते साँझ मात्रै गाउँमा गएका थिए।

प्रहरीको कब्जाबाट भागेका जसबहादुर भारतको ‘रेड लाइट’ क्षेत्रमा कोठी सञ्चालन  गरेर बेचबिखन फस्टाएपछि समय–समयमा हुलिया परिवर्तन गरी नेपाल प्रवेश गरेपनि लामो समयपछि परिवार नै लिएर गाउँमा आएका थिए। उनले आफन्तमार्फत वडा कार्यालयमा हतार–हतारमा नागरिकत र विवाह दर्ता गरी पुनः भारतमै रहेको व्यवसायमा फर्किन चाहेको बताएपछि वडाका जनप्रतिनिधिले समेत शंका गरेका थिए।

‘तत्कालै नागरिकता निकालेर भारत जान खोजेका थिए, मानवतस्करी पो रहेछन्’, वडाध्यक्ष पदमबहादुर पुनले भने। वडाध्यक्ष पुनले जसबहादुरकी श्रीमती भारतीय नागरिक जस्तै देखिएपछि आवश्यक अनुसन्धान गरेर मात्रै दिने बताएर फर्काएको बताए। गाउँको बसाईको क्रममा भारतमा आफूले धेरै युवतीलाई लगेर राम्रो जागिर दिएका समेत बताउने गरेका थिए। कलिलै उमेरमै अनैतिक गतिविधिमा संलग्न भएका जसबहादुरको भनाईलाई स्थानीयले विश्वास गरेका थिएनन्।

मानव तस्कर जसबहादुरले बेला–बेलामा गाउँमा आफन्तलाई समेत फोन गरेर समेत महिलालाई रोजगारी दिने बारेमा बताउने गरेको वडा सदस्य रत्नबहादुर जिसीले बताए। ‘अपराधिक मानसिकताको मान्छ हो, अर्काको श्रीमतीलाई समेत श्रीमान भेटाउने बाहनामा लागेर फसाएको छ’, जिसीले भने। उनले बेला–बेलामा आउने गरेको बताइएपनि वर्षौंपछि पहिलोपटक भेटेको बताए। भकिम्लीका स्थानीयले गाउँकै बदनाम गरेको भन्दै विगतमा समेत गाउँ नफर्किने गरी पटक–पटक लखेट्ने गरेको पाइएको छ।

प्रहरीको कब्जाबाट भागेको स्थान।

प्रहरीलाई छक्याएर भागे जसबहादुर

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली ठोट्नेरीका मगर बिच बाटोबाटै फरार भएपनि अझै भेटिएका छैनन्। आफ्नै श्रीमानबाट भारतको कोठीमा बेचिएकी एक महिलाको १६ वर्षपछि आफन्तले उद्धार गरी मानव बेचबिखन ब्युरोमा परेको जाहेरीका आधारमा मानव तस्कर जसबहादुर, दिल्लीमा कोठी चलाउने पार्वती मगरलाई नियन्त्रणमा लिएर फर्किने क्रममा मुख्य अभियुक्त जसबहादुर गाडीबाटै भागेका थिए। पीडितले जाहेरी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचनाको आधारमा गत माघ ४ गते मोटरसाईकलमा पुगेको प्रहरीको टोलीले मुख्य अभियुक्त जसबहादुर र उनीकी श्रीमती र छोरी रेखा चन्द मगरलाई लिएर स्थानीय सवारीसाधनबाट बेनी आउँदै गर्दा बिरामीको बाहना बनाएर एक्कासी प्रहरीमाथि नै हातपात गरी भागेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए।

स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर बेनी ल्याउँदा बाटोबाटै भागेको देखिन्छ। ‘तीनै जना भाग्न खोजेको देखिन्छ। फरार जसबहादुरको खोजीकार्य भइरहेको छ’, प्रनाउ राईले भने। उनले फरार अभियुक्तका बारेमा खोजीकार्यका लागि टोली नै परिचालन गरिएको बताए। सवारीसाधन भित्र रहेका एक प्रहरी र चालकलाई समेत नाटकीय तरिकाले आक्रमण गरी भकिम्लीको पात्लेबन जंगलतर्फ भागेका जसबहादुरको खोजीमा प्रहरीको टोली जंगलआसपासका क्षेत्रमा खटिएपनि अभियुक्तलाई फेला पार्न असफल भएको बताइएको छ।

मुख्य अभियुक्त जसबहादुरका भागेको भोलिपल्टै देशको सीमा कटिसकेको सूचना प्रहरीलाई प्राप्त भएपनि हुलिया र ठेगानाका आधारमा खोजीमा जुटेको प्रहरीको दावी छ। ‘अभियुक्त मिलेमतोमा भगाइएको आशंका सत्य होइन्,‘हामीले प्रहरीलाई अभ्रद व्यवहार गर्ने छोरीलाई समेत कारागार पठाएका छौ’, प्रनाउ राईले भने।

उनले दिल्लीमा कोठी चलाउने पार्वतलाई ब्युरोमा पठाएकाले थप अनुसन्धानपछि सबै सार्वजनिक हुने बताए। अभियुक्तको खोजीको क्रममा जनशक्ति परिचालनमा केही कमजोरी भएपनि अभियुक्तलाई भगाउन खटिएका प्रहरीको कुनै संलग्नता नभएको बताउँदै खटिएका प्रहरीको असावधनीका बारेमा स्पष्टीकरण समेत सोधिएको छ। जसबहादुरलाई बेनी ल्याउँदै गर्दा हतकडी लगाउनुपनेमा नलगाइएकाले प्रहरीमाथि निरन्तर जाई लागेको प्रत्यक्षदर्शी सवारीचालकले बताए।

मुख्य अभियुक्त जसबहादुरलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार २० वर्ष कैद सजाय हुन्छ। वि.सं २०६२ को पुस महिनामा पीडित महिलालाई दिल्लीमा लगेर बिक्री गरिएको थियो । पीडित महिला नेपाल आएपछि उनले गत ९ मंसिरमा ब्युरोमा जाहेरी दिएकी थिइन्। उनका श्रीमान्लाई ४ माघमा प्रहरीले पक्राउ गरेको हो । पछिल्लो समय उनका श्रीमान् वैदेशिक रोजगारीको क्रममा दुबईमा थिए । दुबईबाट फर्कंदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएपछि घटनाका थप अभियुक्तका बारेमा प्रहरीले पत्ता लगाएको थियो।

गुडिरहेको गाडीबाटै कसरी भागे?

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको जसबहादुर र उनकी श्रीमती केही समयअघि नेपालमा आएको सुईको पाएपछि प्रहररी खोजीकार्यमा जुटेको थियो। फेसबुकमार्फत परिवारसँग सम्पर्क भई म्याग्दीकी एक महिलाको गत कात्तिकमा उद्धार भएपछि प्रहरीको टोलीले अनुसन्धानलाई तीव्रता दियो।

नेपालबाट विभिन्न बाहनामा भारतमा लगेर बन्धक बनाउने र पीडितलाई कोठीमा बन्धक बनाएर यौनधन्दामा लगाउने जसबहादुर र पार्वती भकिम्लीमा रहेको जानकारी लगत्तै प्रहरीको टोली गत माघ ४ गते मोटरसाईकलमा भकिम्लीतर्फ प्रस्थान गरेको थियो। मोटरसाईकलमा पुगेको टोलीले अभियुक्तलाई गाउँमै देखेपछि थप सहयोगका बारेमा प्रहरीमा जानकारी गरायो। तत्कालै वडाध्यक्ष पुनको सहयोगमा प्रहरीले स्थानीय तिलक रोकाको ग ३ च ५३ ८० बोलेरो व्यवस्था गरियो।

बोलेरोको भाडा समेत ३ हजार तिर्ने गरी रोकाले बेनीबाट यात्रु र सामानसहित डाडाखानीबाट जसबहादुर, उनकी श्रीमती र छोरीलाई दुई जना यात्रुसहित हालेर चिनाखेत पुगे। साधा पोशाकमा रहेका प्रहरीलाई देख्दा वित्तिकै बिरामीको बाहना बनाइरहेका जसबहादुरले बेनी फर्किने क्रममा एक्कासी छारे रोगको बाहना बनाएलगत्तै गाडी रोकियो।

बस्तीबाट तल घुम्तीमा असज भएपछि चालक रोकाले गाडीलाई सुरक्षित गर्न खोज्दा एक्कासी तीनै जनाले प्रहरीलाई आक्रमणको प्रयास गरे। बिरामी भएको बाहना बनाइरहेका अभियुक्तले गाडी रोक्न ब्रेक लगाउन खोज्दा चालक रोकाले समेत प्रतिवाद गरेका थिए। ‘मैले अपराधी भन्ने त्यती बेलाम मात्रै थाहा पाए, बिरामीजस्तै लागेको थियो। गाउँमा समेत कहिल्यै देखेको थिएन’, चालक रोकाले भने। उनले तीनजनाले प्रहरीलाई लगातार प्रहार गरिरहेको अवस्थामा एक्कासी जसबहादुर नजिकैको पात्लेबन जंगलतर्फ भागेको बताए। केहीबेरमा स्थानीय केही महिला देखिएपनि उनीहरुलाई समेत आक्रमणको प्रयास भएको थियो। प्रहरीले गाउँमै अपराधी भनेर जानकारी दिएको भए पूर्व तयारी गर्न सहज हुने स्थानीयको भनाई छ।

फरार भएका जसबहादुरले मंगलाघाटमा आफन्तसँग समेत सम्पर्क गरेको पाइएको छ। घटनास्थलमा पुगेका प्रहरीले आवश्यक सावधानी, स्थानीयको सहयोगमा ध्यान नदिएको पाइएको छ भने फरार भएलगत्तै जंगल आसपासका क्षेत्रमा थप जनशक्ति परिचालन नगरिएको देखिएको छ।

२०७८ माघ २५, मंगलवार प्रकाशित