हिउँदे झरी सँगै रोयो प्युठान

|

लगातारको हिउँदे झरी संगै शनिबार बिहानैदेखि प्युठान पनि रोएको छ। उज्यालो नहुँदै आएको विवाहको जन्ती बोकेको जिप दुर्घटनाको खबरले यतिबेला यो क्षेत्र स्तब्ध भएको हो। बेहुली लिएर नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखि गाउँपालिकाको लिवाङ फर्कदै गरेको ग१ज ५०९२ नम्बरको जिप ओखरपाटामा दुर्घटना हुँदा एकै गाउँका ८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा एकै घरका ३ जना ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन्। त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री र १८ वर्षीया बिपना जिसी रहेका छन्।

बेहुला र बेहुली भने घाइते भएका छन्। बेहुलीको एउटा हात हत्केलादेखि छालाले मात्र अड्याएको छ। बेहुली रिमा जिसीसहित अन्य घाइते हरि खड्का र नरेश खड्कालाई थप उपचारका लागि बुटवल पठाइएको छ। त्यस्तै बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

प्युठानका पत्रकार एलबि थापाका अनुसार बेहुली पक्षकाले राती यतै बसेर बिहान मात्र जान सुझाएका थिए तर बेहुला पक्षको ढिपीले जन्ती राती नै फर्किको थियो। थापा भन्छन्, ‘स्थानीयका अनुसार जन्ती बोकेको गाडीले सजिलो सडक छोडेर अफ्ठ्यारो तर छोटो सडक रोजेको थियो।’

प्युठान प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार पानी परेको चिप्लो बाटोका कारण दुर्घटना भएको देखिन्छ। ‘चालकको मृत्यु भएको र अन्य घाइते पनि गम्भीर भएकाले यसै भन्न सकिने अवस्था छैन। सबै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याइँदै छ।’

स्थानीय पत्रकारका अनुसार यतिबेला लिवाङ संगै सिंगो प्युठान शोकमा छ। लिवाङ गाउँ पूरै स्तब्ध छ। सबै टोलाएका जस्ता देखिएका छन्। १७ वर्ष अगाडि २०६१ माघ ८ प्युठानकै गर्जेनीमा जन्ती बस दुर्घटना हुँदा बेहुलासहित ४२ जनाले ज्यान गुमाएका थिए। Source: nagariknews.com

२०७८ माघ २२, शनिबार प्रकाशित