एक करोड असी लाख लगानीमा सामूहिक बाख्रापालन

|

यहाँका तीन युवा मिलेर सामूहिक बाख्रापालन थालेका छन् । बेनी नगरपालिका–४, सिङ्गामा एक करोड ८० लाख रुपियाँ लगानी गरेर सामूहिक रूपमा उन्नत जातका बाख्रा पाल्न थालेका हुन् । तीमध्ये दुई जना वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवा हुन् ।

स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान), प्रेम खड्का र भेषबहादुर थापाले संयुक्त रूपमा ब्रोदर्स कृषि तथा पशुपन्छी फार्म स्थापना गरेर दुई वर्षअघिदेखि बोयर जातका बाख्रा पाल्न थालेका उहाँहरूले यस वर्षदेखि आम्दानी दिन थालेको बताउनुहुन्छ ।
स्थानीय जातका जमुनापारी र खरी जातका बाख्रामा बोयर क्रस गराएर पाठापाठी उत्पादन गरी बिक्री गर्ने लक्ष्य रहेको अणबहादुरले बताउनुभयो । उहाँका अनुसार फार्ममा अहिले माउ, बोका र पाठापाठी गरी ९६ वटा बाख्रा छन् ।

भगवान खड्का गाउँमा राजनीति र सामाजिक कार्यसँगै कृषि पेसामा संलग्न हुनुहुन्छ भने प्रेम वैदेशिक रोजगारबाट फर्कनुभएको र थापा भारतीय सेनाबाट अवकाश लिएर फर्केपछि पशुपालनमा लाग्नुभएको हो । थापाले १७ वर्ष भारतीय सेनामा काम गरेर पेन्सनमा आउनुुभएको हो भने प्रेम रोजगारीका क्रममा नौ वर्ष युरोपमा बिताएर गाउँ फर्किनुभएको हो ।

“लामो समय भारतीय सेनामा जागिर गरियो,” थापाले भन्नुभयो, “अवकाशपछिको समय कृषि पेसामा लगाउनुप-यो भनेर सामूहिक लगानी गरी बाख्रापालन थालेका हौँ । बाख्रापालन मेरो सानैदेखिको रहर पनि थियो । ” उहाँले भन्नुभयो, “सानै उमेरमा भारतीय सेनामा भर्ती भइहालियो, जागिर गर्ने समय हुँदाहुँदै दुई वर्षअघि अवकाश रोजेर गाउँ फर्किएँ । ” कृषिमा नामसँगै दाम पनि भएकाले आफूले यो पेसा रोजेको उहाँले सुनाउनुभयो ।

फार्मको पूर्वाधार निर्माणमा ८५ लाख बढी लगानी भएको फार्मका सञ्चालक खड्काले बताउनुभयो । बाख्रापालनकै लागि करिब १५ रोपनी जग्गालाई ४५ लाख रुपियाँभन्दा बढी लगानीमा खरिद गरिएको उहाँले बताउनुभयो । चार रोपनी जग्गामा फार्म छ भने ५५ रोपनी जग्गामा घाँस रोपिएको उहाँले बताउनुभयो ।

“जग्गा, बाख्रा, खोरलगायतका संरचनामा अहिलेसम्म एक करोड ८० लाख लगानी भइसकेको छ । उन्नत जातका बाख्राको स्रोत केन्द्र र मासुका लागि बोका उत्पादनको केन्द्र बनाउने गरी बाख्रापालनलाई अघि बढाएका छौँ,” खड्काले भन्नुभयो । दुई बर्षअघिदेखि नै बाख्रापालनलाई लक्षित गरी १५ रोपनी जग्गामा घाँसखेती गरिएको थियो भने अहिले ५५ रोपनी जग्गा भाडामा लिएर घाँसको व्यवस्थापन गरिएको छ ।

जाडो र गर्मी दुवै मौसमलाई अनुकुल हुनेगरी खोरका पूर्वाधार बनाइएको अर्का सञ्चालक प्रेम खड्काले बताउनुभयो । “जाडोमा न्यानो र गर्मीमा शीतल हुनेगरी खोरका पूर्वाधार बनाएका छौँ, युट्युबमा विश्वभरका नमुना बाख्रा फार्मका पूर्वाधार हेरेर त्यसको अधिकतम अनुशरण गरी आफैँले खोरको पूर्वाधार बनाएका हौँ,” उहाँले भन्नुभयो ।

पाठापाठीसहित अहिले ९६ वटा बाख्रा रहेको फार्ममा २०० को सङ्ख्यामा बाख्रापालन गर्न सक्ने क्षमता बनाइएको छ । मागअनुसार पाठापाठी पु¥याउन सकिरहेका छैनौँ, अणबहादुरले भन्नुभयो, “बीउका पाठापाठी प्रतिकेजी ५०० देखि २८ सय रुपियाँसम्ममा बिक्री हुनेगरेका छन् । मागअनुसार पु-याउन सकिरहेका छैनौँ । ”

५० वटा माउ बाख्रा रहेको फार्ममा ३५ वटाले पाठापाठी जन्माइसकेका छन् । बाख्रापालनलाई लक्षित गरी जैघाँस, खन्यु, काफल, सुपर नेपियरलगायतका घाँस खेती गरिएको खड्काले बताउनुभयो । लगानीकर्ताकै परिवारका चार जना र बाहिरका तीन जना गरी सात जनाले दैनिक रूपमा रोजगार पाएको थापाको भनाइ छ ।

फार्मबाट यस वर्ष ३० वटा बोयर क्रस गरी उत्पादन भएका उन्नत जातका पाठी बिक्री गर्ने लक्ष्य राखिएको छ । वार्षिक रूपमा २५ देखि ३० लाख रुपियाँसम्मका पाठापाठी बिक्री गर्ने लक्ष्य राखिएको थापाले बताउनुभयो । आगामी दिनमा माउ बाख्राको सङ्ख्यालाई वृद्धि गर्ने योजना रहेको खड्का र थापाले सुनाउनुभयो । यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो । 

२०७८ माघ १८, मंगलवार प्रकाशित