म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यसबर्ष जिल्लामा ६ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । ६९ औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा गतबर्षका नियमित औषधी सेवन गर्ने ३ र यसबर्ष नयाँ ६ जना गरी ९ जना कुष्ठरोगी पहिचान गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुबेदीले बताउनुभयो ।
जिल्लामा हाल औषधी सेवन गरेका रोगीमा बेनी नगरपालिकामा ३ जना, रघुगंगा गाउँपालिका १ जना, मालिका गापा १ जना र अन्नपूर्ण गापा १ जना रहेका छन् । गत आवमा १ भन्दा बढी कुष्ठरोगी भएको देशैभरका ११ जिल्लामा म्याग्दी समेत परेको छ । म्याग्दीमा अन्य पालिकाको तुलनामा बेनी नगरपालिका उच्च जोखिममा रहेको पाइएको छ । गत आवमा निको भएका ९ जना बिरामी नै बेनपाको रहेको सुपरभाइजर सुबेदीको भनाई छ । म्याग्दीमा भेटिएका रोगीको संख्या जनसंख्याको आधारमा गण्डकी प्रदेशमा भित्र कुष्ठरोगका धेरै विरामी भएको जिल्लामा पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशमा १० हजार जनसंख्यामध्ये उपचारमा रहेका जिल्लामा सबैभन्दा धेरै १ दशमलव १८ रहेकोे तथ्याङ्कले देखाएको छ । त्यस्तै गण्डकी प्रदेशमै प्रति १ लाख जनसंख्यामा पत्ता लागेको नयाँ बिरामी दरमा म्याग्दी ६ दशमलव ३३ छ। म्याग्दीका प्रमुख एक नारायण लम्सालले १ प्रतिशतभन्दा माथी कुष्ठरोगी भएको जिल्लालाई जोखिममा राखिएको बताउनुभयो । प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन समेत लम्सालले अनुरोध गर्नुभयो ।
समाजमा बहिस्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामुलक कार्यक्रम सहितका अभियान सञ्चालन गर्न आवश्यक रहेको छ । कतिपय रोगीले सामाजिक बहिस्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाई छ । यसैबीच जिल्ला गतबष्र्र एडिस जातको लामखुट्टेको टोकाइबाट संक्रमण फैलिने डेंगुका २ सय, यसबर्ष ४० जना बिरामी र किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणबाट गतबर्ष ५० जना र यसबर्ष १४ जना पोजेटिभको उपचार गरिएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याम खढ्काले समेत मन्तब्य राख्नुभएको थियो ।