शाह एकताका प्रतीक हुन्: भुसाल

|

म्याग्दीको बेनीमा ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । विश्वहिन्दू महासंघ म्याग्दीको आयोजनामा खुला मंचमा रहेको भगवती मन्दिरको प्राङ्गणमा एक समारोहका बिच पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा विश्वहिन्दू महासंघ गण्डकी प्रदेशका सचिव लोकनाथ भुसालले राष्ट्र निर्माता पृथ्वीनारायण शाह एकताका प्रतीक भएको बताएका छन् । “पृथ्वीनारायणलाई राजाको रुपमा मात्र हेर्दा गल्ती हुनेछ । शाहका दिब्योपदेशहरु अहिलेपनि उत्तिकै मननयोग्य र सत्य सावित भएकोले उनी एक दुरदर्शी, क्रान्तिकारी र परिवर्तनका संवाहक समेत हुन्” भुसालले भने ।

राज्य विस्तारका लागि आफ्नो गोत्र समेत फेर्न तयार गर्ने शाहको आँट र साहासलाई अहिलेका कुनैपनि नेतासँग तुलना गर्न नसकिने भुसालको भनाई थियो । कार्यक्रमका विशिस्ट अतिथि तथा विश्वहिन्दू महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष भद्रबहादुर कार्कीले शाहको योगदानको चर्चा जति गरेपनि थोरै हुने बताए । विश्वहिन्दू महासंघ म्याग्दीका अध्यक्ष कृष्णप्रसाद आचार्यले राष्ट्रिय एकता दिवसले सबैमा मित्रता र सद्भाव कायम गर्न सघाउने बिस्वास ब्यक्त गरे ।

“राजाको पालामा गुरु र गाईको सधैं सम्मान हुन्थ्यो तर अहिले सबैभन्दा धेरै अपमान गुरु र गाईको भएको छ” आचार्यकोको भनाई थियो । कार्यक्रममा मुकुन्द पौडेल, खगराज शर्मा, तुलसीराम आचार्य, टिकानन्द सुवेदी, लक्ष्मीकुमारी जोशी लगायतका धार्मिक अभियन्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । प्रदेस सचिव लोकनाथ भुसालको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सचिव विक्रम श्रेष्ठले गरेका थिए ।

२०७८ पुष २७, मंगलवार प्रकाशित